National

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । मनसुन सक्रिय रहँदा नेपालमा मौसम पुनः बदली भएको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

देशका पहाडी भू–भागमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

दिनभर देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा समेत मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि मौसममा सुधार आउने देखिएको छैन। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव देशभर कायम छ। मनसुनको न्यूनचापीय रेखा आफ्नो औसत अवस्थाभन्दा केही उत्तरतर्फ सरेको छ। साथै, उत्तर प्रदेश आसपास विकसित भएको न्यूनचापीय क्षेत्रको समेत नेपालमा मौसममा प्रभाव परेको छ।

काठमाडौंमा पनि वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा आज मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यहाँको अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ। काठमाडौंमा वर्षाको सम्भावना ६० प्रतिशत रहेको छ।

देशका प्रमुख सहरमध्ये भैरहवामा सबैभन्दा बढी तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। त्यस्तै, जोमसोम सबैभन्दा चिसो रहने देखिएको छ, जहाँ तापक्रम १९ देखि २१ डिग्री सेल्सियस आसपास रहनेछ।

महाशाखाका अनुसार धनगढीमा २९ देखि ३१, विराटनगरमा ३१ देखि ३३, पोखरामा २७ देखि २९ र जनकपुरमा ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम रहने अनुमान गरिएको छ।

लगातारको मनसुनी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रमा थप सतर्कता अपनाउन आवश्यक देखिएको छ। भारी वर्षासँगै मेघगर्जन र चट्याङको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।